इटहरी, २१ माघ । पछिल्लो समयमा आधुनिक प्रविधिसँगै नेपाली चलचित्रको क्षेत्रमा आम दर्शकका बीचमा छुट्टै स्वाद र सन्तुष्टि बोकेर प्रेममा आधारित कथानक चलचित्र ‘प्रेमगीत’ आगामी माघ २९ गते एकैपटक नेपाल अधिराज्यभर आउने तयारीमा रहेको जानकारी दिइएको छ ।
चलचित्र निर्माता सन्तोष सेनको एक करोड ६५ लाख रुपैयाँको लगानी रहेको चलचित्र ‘प्रेमगीत’मा सरोज खनाल, राजाराम पौडेल, रुपा राना, लक्ष्मी गिरी र प्रदीप खड्काको चलचित्रमा मुख्य भूमिका रहेको आज इटहरीस्थित चिन्तन चौतारी होटलमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।
चलचित्रमा मुख्य भूमिकामा रहनुभएका कलाकार सरोज खनालले आफ्नो चलचित्र जीवनमा ३५ वटा चलचित्रमा आफूले अभिनय गरिसकेको र तीमध्ये ‘प्रेमगीत’को निर्माण एवम् प्रस्तुति ज्यादै मनपर्दो रहेकाले आमनेपाली दर्शकका माझमा पनि लोकप्रिय बन्ने विश्वास लिएको बताउनुभयो ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘प्रेमगीत’को सम्पूर्ण छायाङ्कन काठमाडौँ, पोखरा र मुस्ताङका भूगोलको रहेको पनि पत्रकारसम्मेलनमा लगानीकर्ता सन्तोष सेनले थप जानकारी दिनुभयो ।
उहाँले यो धेरै लगानी रहेको र दर्शकले मनपराउने हिसाबको बनेको पनि पत्रकारसम्मेलनमा थप जानकारी दिनुभयो । चङ्खे, पङ्खे र सङ्खेपछि दर्शकमाझ आउन लागेको यो चलचित्र नेपाली चलचित्रको इतिहासमा नै निकै सफल बन्ने विश्वाससमेत व्यक्त गरिएको छ ।
पोखराको केटा अनि मुस्ताङकी केटीबीच प्रेम बसेर अघि बढेको पारिवारिक चलचित्र ‘प्रेमगीत’ दुखान्त छ । यस चलचित्रमा धेरै कलाकार आउने–जाने भइरहेपनि विशेषगरी पाँचजना कलाकारको मात्र मुख्य भूमिका रहेको तथा गीतहरु पनि निकै लोकप्रिय रहने विश्वास गरिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।