गोकर्ण आले
पारी अग्लो गोरखा डाँडा, वारी मेरो धादिङ गाउँ ।
जब मिरमिरे उज्यालो भएदेखि गाउँलाई घामले सेकाईहाल्थ्यो । जब घाम डुब्थ्यो अँधेरी रातले छोपिहाल्थ्यो । ग्रामिण बस्तिबस्तिदेखि केहिपर मावि तहसम्मको पढाई हुने स्कुल । स्कुलको आँगनमा बसन्त ऋतुमा पालुवा फेरेर नयाँ पलाएका पालुवाका टुसाहरूले झयाम्म देखिन्थ्यो लाँकुरीको बोट । त्यहि लाँकुरीको बोटमुनि लहरै बसेर घाम ताप्दै पढेका हुन्थ्यौ ।
पढाई के हो भन्ने थाहै थिएन तर जिल्लास्तरीय परिक्षा भन्ने बितिकै दिमागमा एक प्रकारको काँडा उम्रन्थ्यो । म सँगै मेरो दाया बेञ्चमा चार महिना अघिदेखि बस्थिन् होममाया । कुनै अर्कै नयाँ स्कुलबाट आएकी उनीसँग राम्रो बोलचाल त भएन । तर भेट हुँदा आँखा र ओठले गर्दथे । जिल्ला स्तरीय परिक्षा भन्ने डरले सबैमा ट्यूसनको हाउगुजी चलेको थियो । ट्यूसन पढ्न पक्कापक्की भयो सबै बिधार्थीहरूको प्रायः तीन बिषयमात्र पढ्थे –अङग्रेजी, गणित र बिज्ञान । म बिहानै ६ बजे नै उठेर ट्यूसन जान्थेँ । विद्यार्थी धेरै भएकोले पढाउने शिक्षकले दुई ग्रुप बनाए –बिहान एक क्लास र बेलुका अर्को । म बिहानको क्लासमा बसे ।
उनी पनि बिहान कै क्लासमा आउँथिन् । ट्यूसन पढन थालेदेखि उनिसँग केहि नजिकिन अवसर मिलेको थियो । म कहिले गृहकार्य गरेको हुन्न थिएँ । सँधै उनकै सारेर सरलाई बुझाईन्थ्थो ।
गृहकार्य सार्ने बाहानामा मेरो मन पनि उनिपट्टि सर्न थालिसकेको थियो । मुलायम अनुहार ठुला ठुला गेडा भएका आँखामाथि कालो बाक्लो आखी भौं । बाम्हण भएकीले होला हल्का कपाल पनि पलाएका थियो अनुहारमा । तर पनि मलाई जति हेरे पनि हेरी रहुँ जस्तो लाग्थ्यो । उनको ति मुलायम र ठुला ठुला आँखाले मेरो मन भित्र कतै रमलिन थालिसकेको थियो र मेरो मनलेस्वागत गरिसकेको थियो ।
त्यो कलिलो यौवनावस्थामा मायाको परिभाषा थाहा हुने कुरै भएन । तर पनि ति परिभाषाबाट बाहिर आँखाले इसारा पत्ता लगाउन थालिसकेका थिए । उनलाई देख्ने बितिकै मेरो मन तोडतोड भड्कन थाल्दथ्यो ।
असार साउनको महिना स्कुल बिदा तर ट्यूसन क्लास भने चलिरहन्थ्यो । स्कुलदेखि उनको घर केहि पर थियो । झिसमिसे अध्यारैमा बति बालेर स्कुलसम्म आईपुग्थी । क्लास सुरु भएदेखि उनि पढाईमै एकोहोरो हुन्थिन् म भने उनलाई एकहोरो हेरीरहथे ।
एकदिन उनको र मेरो आँखा हेराहेर भयो । त्यहिदेखि दुई आखाँ चार भए । मनमा भुतभुति मायाका फोकाहरू उठदै फुटदै गरिरहे । मनमा एक प्रकारको घर नै बनाईसकेको हुन्थे उनका बारेमा ।
कक्षा ८ पछि बल्लतल्ल ९ मा उनिसँग यात्राको तारतम्य मिल्यो । जबरजस्ति गरेर होममायाको नाममा प्रेमपत्र लेखेँ । खै के लेखेर उनलाई सम्बोधन गरे त्यो भने अहिले पुरै भुलिसकेँ । हुलाकी होममायाकै साथी थिइन् । उनले मेरो प्रेमपत्रको कुनै जवाफ फर्काईनन् । मात्र मोवाईल नम्बर उनको साथीको माध्यमबाट फर्काइन्, सायद उनको नजरमा म प्रेम गर्न अयोग्य थिएँ कि ?
मसँग नि मलायाबाट काकाले पठाइदिनु भएको सानो पिरपिरे फोन थियो । त्यो रात उनिसँंग लामो कुरा गरे । दिनहरू बित्दै गए । माया के हो नबुझी हामी मायालु जोडी बनि सकेका थिएछौ ।
माया नगासिदा गासीरहँु जस्तो, गासेपछि बोलीरहँुजस्तो, बोलेपछि भेटिरहँुजस्तो मनमा लालसता लाईरहन्थ्यो । कक्षा कोठामा सरले हामीलाई केहि प्रश्न सोधे भने पनि आधा कक्षा हामी तिरै हेरीरहन्थे । अप्ठयारो नै हुने गरी । उनलाई कहिले एकान्तमा भेटँु र मनका बहहरू सुनाउँजस्तो लाग्थ्यो तर सम्भव थिएन । हाम्रो देखभेट नै ती स्कुलको आँगन र स्कुलको ढोका थियो त्यो भन्दा बाहिरी बातारण थिएन । हाम्रो मायाको अनुमोदन त भएको थियो तर बिस्तार हुन पाएको थिएन ।
दशै बिदा हुनुभन्दा अगाडी स्कुलमा उनिलाई एउटा उपहार स्वरूप पोस्टरमा सायरी लेखेर पठाएको थिए । त्यसमा ‘जी प्लस होम’ लेखेको थिएँ । प्रत्युतरमा उनले पनि मलाई चाँदिको हातमा लाउने ब्रास्लेट उपहार पठाईदिइकि थिई ।
त्यहि दिनदेखि मैले उनको नामको होम काटेर माया मात्र बनाएको थिएँ ।
दिनहरू तारम्तर चलिरहयो हाम्रो माया पनि मौलाउदै थियो । कसैको वास्तै हुन छाडिसकेको थियो । उनि घर फर्कदा पनि आँखाले भ्याएसम्म हेरिरहन्थे । जब उनि डाँडा काट्थिन् तब म आफ्नो बाटो लाग्थेँ । माया एकदिन स्कुल नआउदा मेरा आखाहरू माया आउने बाटाहरू मै अल्झिरहन्थ्यो ।
म साराका अगाडी साना साना कुराहरू भुल्न थालिसकेको थिएँ । स्कुलको गेटबाट मायाकोे पाईलाहरू बढदै थियो । एक्कासी मेरो आवाज प्रष्फुटन भो –“ए माया ! ए माया !”
स्कुलका सबै विद्यार्थीहरू सबैले हामीपट्टि हेरिरहेका थिए । हाम्रो पाईला पनि अगाडी बढिरहेको थियो । अब के कुरा बाट गाँठो फुकाउने दुबैमा कुराको गाठो परिरहयो । बाटैबाटो जाऊँ भने मान्छेको चहलपहल, खेतको बाटो जाऊँ भने हिलो बाटो ।
अलिकति अगाडी बढेर चोक पुग्नु अगाडीको शान्त र सुन्दर ठाउँमा हामी बस्यौं । जहाँ मान्छेले थाहा पाउँदैन थिए ।
कुरा कहा बाट के गर्ने भनेर दिमाग शुन्य शुन्य भयो । बाताबरण पनि सुन्य सुन्य नै थियो ।
“माया लाई हाल्यौ त अब !” म सुस्तरी बोलेँ ।
“कस्तो माया !” उनले छड्के हेर्दै बोली
“खै यस्तै त होला नि !” मैले भनेँ ।
“भन्नाले !” उनी जिज्ञासु बनिन् ।
हामीले हात समातीरहेका थियौ, मैले त्यही देखाएर भनेँ –“यहि त !”
उ फिस्स हाँसिन् र बोलिन् –“यस्तो पनि माया हुन्छ ।”
धादिङ, हालः मलेसिया ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।