काप्पोबा चुम
उ तोङ्बाको अघि बस्नै सर्माउछ
अनि लुसुक्क फ्रीजबाट बियर निकाल्छ
र चिनाउन थाल्छ मलाइ
मार्कुस, लेलिन, माओ… यस्तै यस्तै थुप्रै मान्छेहरु…
तर
उस्ले पिउने बियरको बिर्को त खोल्न जान्दिनँ
उसको कुरो कसरी बुझु म ?
आखिर
म मुलाङलाइ के छ र…?
साथी हो भने अ.. अ .. हो ..हो..
भनेर टाउको हल्लाइ रहे ।
हो अचेल वीर बहादुर
कम्रेड ज्वाला बनेको छ
र त अलिक फेरिएको छ ।
त्यसैले
उ सर्माउछ तोङ्बाको अघि
र लुसुक्क फ्रीजबाट बियर निकाल्छ
अनि तोङ्बाको आँखा छलेर बस्छ ।
सायद
तोङ्बा पिएर बाटोमा लडेको हुनु पर्छ
तोङ्बा पिएर फौजदारी गरेको हुनु पर्छ
तोङ्बा पिएर बुडि कुटेको हुनु पर्छ
र त
उ सर्माउछ तोङ्बासँग
किन कि तोङ्बाले इजत लुटेको हुनुपर्छ
सायद त्यसैले होला–
उ तोङ्बाको अघि बस्नै सर्माउछ
र लुसुक्क फ्रीजबाट बियर निकाल्छ
अनि तोङ्बाको आँखा छलेर बस्छ ।
उहिल्यै लिम्बुवानमा तिरो बढाउदा
किपट फार्से राजिनामा हुन थाल्दा
किपटियाहरु आत्तिए जस्तो
सुब्बाहरु लाट्टिएर जस्तो,
उस्ले तोङ्बा देख्नै हुँदैन
उ आत्तिएर लड्न थाल्छ
उ मात्तिएर पछारिन सक्छ
र त
उ तोङ्बाको अघि बस्नै सर्माउछ
र लुसुक्क फ्रीजबाट बियर निकाल्छ
अनि तोङ्बाको आँखा छलेर बस्छ ।
बिचरा बियर …
अलिकती टेवल हल्लिनै हुन्न
बोतल नै फुटाउन खोज्छ
किर्ते बिर्कोले छोपेको भ्रष्टाचारी तमसुक निकाल्न खोज्छ ।
कम्रेड ज्वाला…!
बियरको (बोतल) बिर्को कहिले खोल्ने ?
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।