काठमाडौं । गीत रचना क्षेत्रका उदाउँदा ताराका रूपमा चिनिँदै आएका छन्– राम रेप्चुङ । भोजपुरमा जन्मिएका उनले विगत १८ बर्षदेखि मोरङको याङसिला रहँदै आएका छन् । वास्तविक नाम रामकुमार राई भएपनि साङ्गीतिक नाम रेप्चुङ थपेर अगाडि बढिरहेका छन् ।
रेप्चुङको गीतरचनाको कथा अलि फरक छ । करिब ९÷१० महिनाको हुदा आमाबुवाले छोडेका रामले ४ बर्ष सडकमा बिताएका छन् । त्यसपछि १२ बर्ष सम्मको गोठाले जीवन, करिब १३ महिना जति सुनसरीको चतरादेखि भोजपुरसम्म भारी बोकेर बिताएका छन् । त्यसबेलाका दुःख नै गीत लेखनको श्रोत बन्न पुग्यो । चौतारी र ओडारका बासहरूले जतिखेर पनि कुत्कुत्याइरह्यो । तिनै भावनाहरूलाई मनभित्र गाँठो पारेर राखिराखे ।
पछि उनी ६ वर्ष वैदेशिक रोजगारीको लागि मलेसिया बसे । मलेसिया त्यसै सिर्जनाको उर्वर भूमि, त्यहीकै कम्पनीहरूमा काम गर्ने क्रमम हृदयका पुराना डायरी पल्टाए र उतारे गीतहरूमा । तिनै शब्दहरूलाई पहिलो एल्बम “आधा सास फेरिरहेँ”मा समेटे । सुरेश अधिकारी, सन्तोष श्रेष्ठ, अविद श्रेष्ठ, पविधन खालिङ र कर्मा ग्याल्छेनको संगीत, मनोज राज, स्वरूप राज आचार्य, मिलन आमात्य, कृष्ण भक्त राई, दीपक लिम्बू, कर्मा ग्याल्छेन र खुसेनिछो चाम्लिङको स्वरमा सुनाए ।
त्यसपछि सांगीतिक माहौलमा उनी दह्रैगरी लागेका छन् । उनका केही नेपाली चलचित्र, सामूहिक एल्बम र आफ्नो सोलो एल्बम गरी लगभग ५ दर्जन भन्दा बढी गीतहरू रेकर्डेड भइसकेका छन् ।
दोस्रो एल्बम “आधा जीवन” केही दिन मै सार्वजनिक हुने तयारीमा छ । यस एल्बममा बिनोद खम्बू र ताराप्रकाश लिम्बूको संगीत, राजेश पायाल राई, मिना राई, सुमन सरगम, बिनोद खम्बू र स्वयं रेप्चुङको पनि स्वर हुनेछ । तेश्रो कृतिको रूपमा चाही म्युजिक भिडियोका डिभिडी निकाल्ने तयारीमा छन् ।
रामले मलेसिया छँदा केही सांगीतिक कार्यक्रमको आयोजना गरे । संगीतप्रतिको मोहकै कारण उनले कार्यक्रमलाई निकै समय दिए । अहिले उनी ठम्याउँदैछन् –“देश बिदेशमा स्थापित संघसस्थाहरूले आयोजना गरेको कार्यक्रममा गीतकारले रचना गरेको गीतलाई गाएर दर्शक उफार्छन्, तर गीतकार जहिले जहाँको त्यहीँ हुनेरहेछ ।”
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।