समयको खेलसँगै अप्सरा - Naya Online

समयको खेलसँगै अप्सरा

देवेन्द्र सुर्केली

apsaraसाथीसंगीको विचमा आफु केही अग्ली र राम्री पनि थिइन् अप्सरा सेर्मा । उसै त तराईको भूमिमा चलचित्रको फेसनले छपक्कै छोइहाल्ने । साथीहरूले ‘तँ त पछि हिरोइन हुन्छेस्’ भन्दा मन निकै फुरुङ्ग हुन्थ्यो । अनि कता कता हिरोइन हुने सपनाले गाँज्ने पनि गथ्र्यो । हिरोइनहरूले छमछमी नाचेको अनि मौका आइपर्दा फाइट पनि खेल्नपर्ने हुदा थुप्रैपटक साथीहरूमाझ नाच्ने, संवाद बोल्ने र फाइट खेल्नेजस्ता क्रियाकलाप पनि हुन्थे । साथीहरूसँग लहडैलहडमा कराँते सिक्न पुग्दा किन सिकेको भन्ने सोधनी हुन्थ्यो आफन्तहरूबाट । बनावटीरुपमा आत्मरक्षाको लागि भन्ने उत्तर दिने गरेपनि खासमा हिरोइन भएपछि भिलेनलाई किक हान्ने शौख नै ज्यादा थियो ।
घरमा ६ बहिनीमध्ये उनी साइँली । उनकै भाषामा भन्नुपर्दा –‘राम्री नै थिएँ कि कुन्नी, अप्सरा नाम राखिदिए अभिभावकहरूले ।’ बुबा भारतीय मेजर गन्जवीर सेर्मा आधुनिक शैलीका तर कडा मिजासका थिए । लामो समयसम्म भारतीय सेनामा रहनुपर्दा बलिउडका चलचित्रहरूको प्रभावले पनि छोरीको नाम जुराउनमा मद्दत पुग्यो होला । रवाफिला गन्जवीर वंश धान्नकै लागि ६ जना छोरीको जन्मपछि एक भाईको आगमन गराएको रमाइलो कहानी पनि छ, भन्छिन् अप्सरा ।
धरमपुर र दमकगरी दुईठाउँमा थियो घर । यताउता गरिरहनुपर्ने दैनिकी । स्कुलभने दमकमै पढे सबै दिदीबहिनीहरूले । हाल उच्च मावि बनिसकेको सरस्वति मावि थियो अप्सराको बाह्रखरी चिनाउने स्कुल । निमावि कक्षामा पढ्दापढ्दै कहिले कविता लेख्ने, सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थिन् । त्यो बेलादेखि नै उनको ढृड प्रतिज्ञा थियो केही गर्ने र नाम कमाउने । सिर्जनात्मक कार्य गर्न नसके नर्स बनेर समाजसेवा गर्ने ।
अचानक एकदिन उनले चलचित्र ‘देउमाइको किनारमा’को सुटिङ हेर्न पुगिन् । सुटिङ हेरेपछि नायिका बन्ने इच्छाले अग्घोरै सतायो । आफ्नी दिदीलाई इच्छा व्यक्त गरिन् । उक्त चलचित्रका निर्देशकहरू प्रेम सेर्मा र सुरेन्द्र सेर्मा आफ्नै वंशजका भएपनि चिनजान थिएन । चलचित्रमै कलाकार रहेका डीएम नेम्बाङसँग दिदीको चिनजान थियो । दिदीले डीएमसँग खेलाइदिने आग्रह गरिदिन्छु भनेर बचन दिइन् । त्यो रात अप्सरालाई निन्द्रै लागेन रे । डीएमबाट निर्माता÷निर्देशकसँग भेटघाट भयो र फोटोसेन भयो अनि पुष्पा भन्ने पात्रको छोटो भूमिकामा अभिनय गरेर आफ्नो इच्छा पूरा गरेको अप्सरालाई भर्खरै जस्तो लाग्छ ।
सानोमा साथीहरूले ‘तँ त हिरोइन बन्छेस् होला’ भन्ने गरेको उद्गार छोटो भूमिकामै भएपनि चलचित्रमा प्रवेश भएपछि के चाहियो र ? उनी गाउँको सानोतिनो सेलिब्रिटी बनिन् । नयाँ वर्ष तथा दशैमा हुने नाटकहरूमा उनकै माग हुन थाल्यो । उनीसहितको टोली नाटक प्रर्दशन गराउन उर्लाबारी, बेलबारी र धरानसम्म पुगेको थियो । तुम्दङ भन्ने लिम्बू भाषाको नाटक निकै चर्चित भयो । पुराना वस्ती, भरियाको जिन्दगी, बिहानीलगायत नाटकहरू गरेको उनी सम्झन्छिन् ।
चर्चित नाटक तुम्दङलाई फिल्मांकन पनि गरिने भयो । उक्त चलचित्रबाट उनले नायिकाको रुपमा पर्दापण गरिन् । त्यसपछि पूर्वी नेपालमा बन्ने गरेका चलचित्रहरूमा भइरहेको नायिकाको अभावलाई टार्ने क्षमतावान कलाकारको रुपमा दरिइन् । निष्ठुरी माया, अमरप्रीति, आनिसाक्थिम, मासेमीलगायतका चलचित्रहरू र टेलिसिरियल पाहुनामा क्रमशः नायिका बन्दै आइन् ।
उनको क्षमता तत्कालिन नायिकाहरूसँग प्रतिष्पर्धी बन्न सक्ने थियो । तसर्थ काठमाडौं आएर संघर्ष गर्नुपर्छ भनेर खाल्डो नटेकेको पनि होइन, काठमाडौं आएर खुकरी, आफ्नो विरानो चलचित्रहरूमा छोटो रोल गरेकी उनको जीवनले अर्कै मोड लियो । किनभने उनले धरमपुरकै पूर्ण नेम्बाङसँग विवाहबन्धनमा बाधिइसकेकी थिइन् । श्रीमानको सहयोग राम्रै रहेपनि माइतीमा मेजरको छोरी भएर पुल्पुलिएकी अप्सरालाई नयाँघरमा आफैले बनाउनुपर्ने संसारसँग जुध्न प¥यो । विवाहपश्चात लगातार जन्मिएका छोराहरू नाम्लिङ (१०) र तान्छो (९) को लागि पनि केही सोच्नै प¥यो ।
निरन्तरता दिँदा नेपालको कलाकारिताले उती उभो नलागिने, केही गरौं त्यस्तो सीप केही छैन । यताउती गर्दागर्दै २÷३ वर्ष बितिगयो । अचानक उनमा आइडिया फु¥यो कि विदेश जाने ।
विदेश जानको लागि केही राम्रो देशहरूमा बुझेर अप्लाई गर्ने प्रक्रिया अगाडि बढाइन् । उनको ताक जापान थियो । तर केही ढिला हुने भएकोले हतारिएको मनलाई कसैले साइप्रसमा जाने बाटो बताइदियो । उनको भाग्य त्यतै रहेछ, अप्लाई गरेको १५ दिनमै भिषा आयो र वि.सं. २०६३ सालमा उनी साइप्रस उडिन् । जम्दै गरेको एउटा प्रतिभाशाली कलाकारलाई वैदेशिक रोजगारीको बाटोमा समाहित गरिन् ।
विदेशको ठाउँ कहाँ नेपालजस्तो हुन्छ र ? विकसित देश त्यसै भएको होइन । अल्छिको कामै छैन । चौविसै घण्टा काम गर्न सक्ने मालिकको प्यारो हुने, कामचोर सदाका लागि विदा हुने नियति । त्यहाँ उनले निकै सास्ती पनि पाइन् । नेपालीहरू त झन् लुटाहा, ठग मात्रै भेटिने ।
संघर्षका वावजुद त्यस विरानो ठाउँलाई पनि आफ्नो बनाएरै छाडिन् । मालिकमालिकनी आफ्नै बुबाआमाजस्तो बनाउन सफल भइन् । रोमानिया, फिलिपिनी, भियतनाम, रसियाका मिल्ने साथीहरू बनाइन् । रोमानियाकी एलिना त आफ्नै बहिनीजस्ती भइन् । आज भन्यो, भोली भन्यो काम गर्दै जाँदा ८ वर्ष बितेको पत्तै भएन ।
बाबिया सुपरमार्केट, उनले काम गर्ने ठाउँ । यसबिचमा धेरै नेपाली संस्थासँग नजिक पनि भइन् । कार्यसमितिमा रहेर काम गर्ने मौका भने पाइनन् । विभिन्न सांस्कृतिक कार्यक्रम हुँदा सहयोगी भूमिका गर्ने, कविता वाचन गर्ने गर्दथिइन् । कुनैबेला विद्यार्थीहरूको चाप निकै थियो, साइप्रसमा । पछिल्ला दिनमा भने चाप घटेको थियो । एकपटक नेपालीहरूबीच सानो पार्टी मनाएर हल्ला गर्ने क्रममा प्रहरीले खानतलासी लिन खोज्दा पाइपबाट भाग्न खोज्ने एक अवैधानिक नेपाली महिलाको लडेर मृत्यु र अर्को एक महिलाको श्रीमानले नेपालमा अर्कै श्रीमती ल्याएको निहुँमा आत्महत्या गरेको नमिठो सम्झना पनि बोकेकी छिन् । खाडी मुलुकलगायत मलेसियामा नेपालीहरू सुत्येको सुत्यै मृत्युभएको समाचार इन्टरनेटमा पढिरहने अप्सराले साइप्रसमा दुई नेपालीको यस्तो मृत्यु हुँदा निकै निराश बनेकी अनुभूति पनि बाड्छिन् ।
हालै, उनी नेपाल फर्किइन् । आठवर्षसम्म श्रीमान र छोराहरूको विमुखमा रहनुपरेको न्यास्रोलाई मेट्न उनी फर्केकी हुन् । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनले आफ्नो कामप्रति सन्तुष्ट छैनन् । त्यसैले केही गर्ने जोश पनि बोकेर आएकी छिन् । फेरि उमेर छउन्जेल केही कमाउनै पर्छ कि भन्ने पापी मनले पनि गाँजिरहेको छ । केही कमाएकी छिन्, तर मान्छेलाई कहाँ पुग्छ र ? रहर र बाध्यताको भुमरीमा दोसाँधीएकी अप्सराको कान्छी बहिनी साहरा सेर्माले भने केही चलचित्रमा अभिनय गरेको कुराले निकै गर्वावन्वित तुल्याएको सुनाउँछिन् ।
प्रायः आफ्नो कथाव्याथालाई कवितात्मक रुपमा खरर्र सुनाउने अप्सरा कोमल मनकी छिन् । उनले धेरै डायरीहरू कविता लेखेर भरेकी छिन् । उनको कविता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाद्वारा सम्पादित एक संग्रहमा संग्रहित पनि छ । कवितालाई पुस्तकारको रुपमा पनि ल्याउनु हुन्छ कि ? भन्ने प्रश्नमा उनी भन्छिन् –‘जिन्दगी समयको खेल हो, सोचेजस्तो कहिले नहुने । चाहना इच्छा भनेको बगिरहने खोलाजस्तो हो । खै के हुन्छ हेरौं ।’००

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपालको हकमा जातीय उत्पीडन विकराल कि वर्गीय समस्या प्रधान ?

-उदय पूर्वेली चोङबाङक्याक नेपालको हकमा जातीय उत्पीडन नै वर्गीय समस्याको मूल जड हो ।...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका

काठमाडौं १ भाद्र । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न...

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

सुकोमल स्वर र शालिन ब्यक्तित्वकी धनी सुमिता

मुकेश राई ‘हरेक साँझ तिम्रो यादमा जल्ने टुकी हुँ म चुपचाप तिम्रो मन भित्र...